बेशीसहर । बागमती युवा क्लब र रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको सेमिफाइनलमा स्थान बनाएका छन् ।
लमजुङको बेसीसहरमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा टोखा भगवतीलाई पेनाल्टी सुटआउटमा हराउँदै बागमती अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
बागमतीका देव गुरुङ, अमर श्रेष्ठ, दिपेश राई, अनिल राना र सुमन राईले गोल गरे । अविनाश स्याङतान गोल गर्न चुके ।
टोखाका युक्रेन शेर्पा, रजत तिवारी, दिपेश गुरुङ र बिलेले गोल गरे ।
एन्सउन र साजनले पेनाल्टीमा गोल गर्न सकेनन् ।
दोस्रो क्वाटरफाइनलमा रोड्सले विरगंज युनाईटेडलाई २-१ ले हराएको छ ।
रोड्सका लागि डिक सेर्जी र सुरेश कुमालले गोल गरे ।
विरगंजका अमर डंगोलले एक गोल फर्काए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।