बेशीसहर । साविक विजेता बुद्ध युवा क्लब भोटेओढारले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
लमजुङ जिल्लाको बेसीसहरमा बुधबार भएको पहिलो खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर बुद्धले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
खेलको १९ औं मिनेटमा सन्जोग मानन्धरले गोल गर्दै त्रिवेणीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७५ औं मिनेटमा बुद्धका सुजित बुढाथोकीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको छैटौं मिनेटमा बुद्धका अबागोमीले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।
प्रतियोगिता अन्तर्गत नै दोस्रो खेलमा रोड्स रामपुरले लमजुङ मर्स्याङ्दी युथ क्लबलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
रामपुरको जितमा अब्डेल बाहिमोनेले ७८ औं मिनेटमा निर्णायक गोल गरे ।
त्रिवेणी युथ क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछ ।
पहिलो खेलमा बागमती युवा क्लब र खालीबारी तथा दोस्रो खेलमा सोसियल वेलफेयर र लान्ग्दी देवीबीच खेल हुने आयोजक त्रिवेणी युथ क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।