काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नव प्रवेशी क्लब चर्च ब्वाईज युनाईटेड खेलाडी अनुबन्धमा आक्रामक देखिएको छ ।
'ए' डिभिजन लिगको मिति तय नहुँदै चर्च ब्वाइजले खेलाडी अनुबन्धलाई तीव्रता दिएको छ ।
चर्च ब्वाइजले 'बी' लिग च्याम्पियन बनाउने केहि खेलाडीको सम्झौता नवीकरण गरिसकेको छ ।
पुराना खेलाडीको नवीकरणसँगै चर्च ब्वाइजले राष्ट्रिय टिमका खेलाडीहरु अनुबन्धलाई आक्रामक रुपमा अघि बढाएको छ ।
चर्च ब्वाइजले बुधबार राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्टलाई अनुबन्ध गरेको घोषणा गरेको छ ।
चर्च ब्वाइजले राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङसहित डिफेन्डर दिनेश राजवंशी,मिडफिल्डर तेज तामाङ र एरिक विष्टलाई अनुबन्ध गरेको चर्चा छ ।
चर्च ब्वाइजले औपचारिक रुपमा अनुबन्धबारे घोषणा गरिसकेको छैन ।
तर, क्लबका एक पदाधिकारीले उनीहरुलाई अनुबन्ध गरिएको पुष्टि गरे ।
अनन्तलाई टिमको कप्तानको जिम्मेवारी समेत दिईएको क्लबका एक पदाधिकारीले जानकारी दिए ।
यस्तै चर्च ब्वाइज फरवार्ड विमल घर्ति मगर र गोलकिपर दीप कार्की अनुबन्धको नजिक पुगेको बताईएको छ।
उनीहरु मछिन्द्र फुटबल क्लबसँग समेत कुराकानी गरिरहेको बुझिएको छ।
चर्च ब्वाइज 'बी' डिभिजन लिगको विजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
चर्च ब्वाइजले शीर्ष डिभिजनको लिग अघि पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' डिभिजन लिग पुस २६ गतेबाट गर्ने बताएको थियो ।
तर, क्लबले एन्फाले तोकेको मितिमा सहमति जनाएपछि लिगको मिति अझै टुंगो लागेको छैन ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।