इलाम । प्रथम जय हुमागाई मेमोरियल गोल्डकपमा सहलेश युवा क्लब सिराहाले विजयी सुरुआत गरेको छ ।
झापाको दमकस्थित बेलडाँगीमा जारी प्रतियोगिताको उद्धघाटन खेलमा झापाको बिर्तामोड युनाइटेड एफसीमाथि टाइब्रेकरमा जित दर्ता गर्दै सिराहाले विजयी सुरुआत गरेको हो ।
जय हुमागाई एण्ड फेमेली ट्रस्टद्वारा आयोजित प्रतियोगितामा सिराहाले बिर्तामोडमाथि ४–२ गोलअन्तरले टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा बिर्तामोडका दुई खेलाडीको प्रहार बाहिरिएको थियो । जसमा पदम भट्टराई र विक्रम तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो । आशिष चापागाईं र अभिषेक गुरुङको प्रहार बाहिरिएको थियो । यस्तै, सिरहाका लागि सिमान्त थापा, अजय मार्टिन, फोडे फोफोना र ऋतिक थापाको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको म्यान अफ दी म्याच सिमान्त थापा घोषित भए । उनलाई आयोजक समितिका अध्यक्ष शिव हुमागाईले नगद ५ हजार प्रदान गरे । भोलि पथरी शनिश्चरे सेटलमेन्ट एफसी मोरङ र शान्तिनगर एफसी सुनसरीबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाखसहित ट्रफी पाउने छ ।