काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।
बेलायती मिडिया बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को यस अवार्ड प्रदान गरेको हो ।
३५ वर्षीय मेस्सीले आइतबार अर्जेन्टिनालाई कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।
अर्जेन्टिनाले ३६ वर्षपछि र तेस्रो पटक विश्वकप उपाधि जितेको हो ।
फ्रान्सेली क्लब पीएसजीका फरवार्डले विश्वकपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए ।
पाँचौं पटक विश्वकप खेलेका मेस्सीले कतार विश्वकपमा ७ गोल गरेका थिए ।
बार्सिलोनाका पूर्व स्टारले फ्रान्सविरुद्ध फाइनलमा दुई गोल गरेका थिए ।
विश्वकप उपाधिसँगै ७ पटकको बालोन डी'ओर विजेता मेस्सीले आफ्नो पुस्ताका सर्वकालीन महान खेलाडीमा आफ्नो नाम दर्ज गरेका थिए ।
