पोखरा । सहारा क्लब हङकङले २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि पोखरा रंगशालामा २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता गर्दैछ ।
सहारा क्लब हङकङका उपाध्यक्ष खम गुरुङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले हालै सम्पन्न स्व.बिल तामाङ स्मृति सहारा फुटबल कपको आयव्यय समेत सार्वजनिक गरेको छ । जसमा १ लाख ३९ हजार आम्दानी भएकोमा खर्च कटाएर ६१ हजार हङकङ डलर बचत भएको छ । यसैगरी, यही २५ डिसेम्बरमा हुन लागेको गोर्खा कपमा क्लबले आफ्नो तर्फबाट सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा मोफसलको चर्चित क्लब हो । क्लबले पोखरा १७ दोबिल्लामा सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । क्लबले निरन्तररुपमा गएको दुई दशकदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो । यसपालिको प्रतियोगितामा आयोजकसहित १० टिमले भाग लिने छन् ।