गुरुङ यू-२० महिला टिमको मुख्य प्रशिक्षक

काठमाडौं । यू-२० महिला टिमको मुख्य प्रशिक्षकमा यम गुरुङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गुरुङलाई यू-२० महिला मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि एन्फाले गुरुङलाई मुख्य प्रशिक्षक चयन गरेको हो ।
यस्तै एन्फाले सन्देश श्रेष्ठलाई सहायक प्रशिक्षक र श्रीकृष्ण बैद्यलाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको जनाएको छ।
टिमको म्यानेजरमा इन्दु दुवाल रहेकी छिन् ।
ढाकामा आयोजना हुने च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।
यस्तै नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।













