काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्ष जियानी इनफान्टिनोले कतारमा विश्वकप फुटबलको फाइनल खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै ३२ टिम सहभागी हुने पुरुष क्लब विश्वकप सन् २०२५ मा हुने घोषणा गरेका हुन् ।
चीनबाट सुरु भएको कोभिड महामारीका कारण फिफाको यो कार्यक्रम स्थगित भएको थियो । फिफा अध्यक्ष इनफान्टिनोले सन् २०२५ मा ३२ टिम सहभागी हुने नयाँ क्लब विश्वकपको कार्यक्रमको औपचारिक घोषणा गरेका हुन् ।
आईतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै इनफान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी समेत गरे ।
युरोपका ठुला क्लबले अस्विकार गरेको प्रस्तावका बीच फिफाले नयाँ क्लब विश्वकपको कार्यक्रम घोषणा गरेको हो ।
‘यो हरेक चार वर्षमा ३२ टिमका क्लब सहभागी क्लब विश्वकप हुनेछ । र यसको पहिलो संस्करण सन् २०२५ मा हुनेछ । विश्वका उत्कृष्ट टिमलाई प्रतियोगितामा आमन्त्रित गरिनेछ ।’ उनले भने ।
फिफाले अहिले सात महादेशका उत्कृष्ट ७ टिमलाई सहभागी बनाएर क्लब विश्वकपको आयोजना गर्दै आएको थियो । उनले यसको विस्तृत विवरण छलफलबाट टुङ्गो लगाउने र तर प्रतियोगिता कुनैपनि हालतमा हुने बताए ।
यस्तै फिफाले ३२ टिम सहभागी महिला विश्वकपको समेत तयारी गरेको छ । तर यसको बारेमा विस्तृतमा केही बताएको छैन । फिफाको क्लब विश्वकपको पछिल्लो उपाधि लण्डन क्लब चेल्सीले जितेको थियो ।