काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, नेपाली फुटबलको घर ।
नेपालले आज घरेलु मैदानमा पाकिस्तानविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।
पाकिस्तानविरुद्ध मैदान उत्रदा दशरथ रंगशालामा नेपाली फुटबलले अर्को कोशेढुंगा पूरा गर्दैछ ।
पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ ।
नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो । र, ३९ वर्षमा नेपालले दशरथ रंगशालामा ५० खेल पूरा गर्न लागेको हो ।
नेपालले दशरथ रंगशालामा पहिलो पटक माल्दिभ्सविरुद्ध औपचारिक अन्तराष्ट्रिय खेल खेलेको थियो । सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो । नेपालले पुरुष फुटबलमा स्वर्ण पदक समेत जितेको थियो ।
अर्को तथ्य दशरथ रंगशालामा नेपालले कुल ५७ गोल गरेको छ । जसमा दुई गोल आत्मघाती गोल रहेको छ । नेपालले हालसम्म दशरथ रंगशालामा २१ राष्ट्रसँग खेल खेलेको छ । दशरथ रंगशालामा हालसम्म ८८ अन्तराष्ट्रिय खेल भएको छ।
नेपालले पाकिस्तानविरुद्ध ७ खेल दशरथ रंगशालामा खेलेको छ ।
दशरथ रंगशालामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा भरत खवास रहेका छन् ।
फरवार्ड भरतले १ ह्याट्रिकसहित दशरथ रंगशालामा ६ गोल गरेका छन् ।
यस्तै पूर्व कप्तान तथा फरवार्ड हरि खड्काले ५ गोल गरेका छन् ।
फरवार्ड अन्जन विष्टले १ ह्याट्रिकसहित ४ गोल गरेका छन् ।
पूर्व कप्तान अनिल गुरुङले समेत ४ गोल गरेका छन् ।
पूर्व फरवार्ड जुमानु राईले ३ गोल गरेका छन् ।