काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति सिटीले एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।
१० खेलाडीमा समेटिएको सिटीले पाएको अवसरमा गोल गर्न चुक्दा बराबरी खेल्नु परेको हो ।
खेलको ११ औं मिनेटमा रोड्रीले गोल गरेका थिए । तर, फाउल भएको कारण भीएआरको सहायताबाट उनको गोलले मान्यता पाएन ।
२५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार कोपनहेगनका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
यस्तै खेलको ३० औं मिनेटमा सर्जियो गोमेजले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीका बाबजुत सिटी समूह 'जी' को शीर्ष स्थानमा रहेको छ ।
सिटी नकआउट चरणमा समेत प्रवेश गरेको छ ।
सिटीले ४ खेलमा १० अंक जोडेको छ ।
कोपनहेगन २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।