काठमाडौं । इटालियन क्लब रोमाका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले कतार विश्वकप गुमाउने सम्भावना बढेको छ ।
इटालियन सिरी ए अन्तर्गत आइतबार राति लेसेविरुद्धको खेलमा चोट बोकेपछि डिबालाले विश्वकप गुमाउने सम्भावना बढेको हो ।
रोमाले लेसेमाथि २-१ को जित निकाल्दा डिबालाले गम्भीर चोट बोकेका हुन् ।
उनले ४८ औं मिनेटमा पेनाल्टीमार्फत गोल समेत गरेका थिए ।
तर, मांसपेशीमा समस्या देखिएपछि ५० औं मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए ।
रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनी २०२३ अघि मैदान फर्कने सम्भावना कम रहेको बताए ।
'म भन्छु डिबालालाई नराम्रो छ । धेरै नराम्रो होइन । दुर्भाग्यवश यो खराब भन्दा धेरै खराब छ,' मोरिन्होले भने ।
कतार विश्वकप आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
विश्वकपमा सहभागिता जनाउने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ ।