काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबल पोखरा रंगशालामा हुने भएको छ । प्रदेशकै सबैभन्दा राम्रो रंगशाला मानिएको पोखरामा फुटबलका प्रतियोगिता नहुने भएपछि स्थानीय स्तरबाटै आलोचना भएको थियो ।
राखेपद्धारा गठित स्रोत परिचालन उपसमिति र अखिल नेपाल फुटबल संघ एन्फाको पहलमा पुरुष फुटबल पोखरा रंगशालामा गर्ने सहमती बनेको छ । सहमती अनुसार पुरुष फुटबलका दैनिक एक खेल पोखरा रंगशालामा हुनेछ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव समेत रहेका स्रोत परिचालन उप समितिका संयोजक सुर्यलाल भण्डारीले पोखरा रंगशालामा फुटबलका खेल हुने पक्का भएको खेलपाटीलाई बताए ।
'समय मिलाउन नसक्दा पुरुष फुटबल बाहिर सार्ने निर्णय भएको रहेछ । एथलेटिक्ससँग समन्वय गरेर समय मिल्ने भएपछि फुटबलका खेल रंगशालामा गर्ने सहमती बनेको छ । अब पुरुष फुटबलका हरेक खेल पोखरा रंगशालामा हुनेछ ।' उनले भने ।
भण्डारीका अनुसार नवौंको पुरुष फुटबल दर्शकले टिकट काटेर रंगशालामा हेर्न पाउनेछन् । स्रोत परिचालन उपसमितिले टिकट काटेर खेल हेर्ने संस्कृतिको विकासमा टेवा पुर्याउन थोरै मुल्य राखेर टिकटको व्यवस्थापन गर्ने भएको छ ।
यसअघि नवौंका लागि गठित खेल स्थल पूर्वाधार उपसमितिले पोखराको लामाचौरस्थित गोस्तेघाटमा पुरुष फुटबल गर्ने निर्णय गरेको थियो । फुटबलको महिला विधा भने स्याङ्जाको वालिङमा हुनेछ ।