काठमाडौं । राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक ग्यारी फिलिप्सले पुनः नेपालको प्रशिक्षक बन्ने चाहना देखाएका छन्।
अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले खेलपाटीसँग कुरा गर्दै साफ च्याम्पियनशिप २०२२ मा उपविजेता बनेको नेपाली टोलीको नेतृत्व सम्हाल्न आफु तयार रहेको धारणा राखेका छन् ।
'मैले थोरै समय नेपालको महिला टोली हेर्ने मौका पाएको थिएँ । मलाई नेपाली खेलाडीसँग काम गर्न रमाईलो लाग्यो र मलाई विश्वास छ कि हामीसँग राम्रो सम्बन्ध थियो । एन्फाको योजनाको बारेमा मलाई थाहा छैन र कसैसँग कुरा भएको छैन । तर मेरो चाहना फेरी नेपाली टोलीसँग काम गर्ने छ । म यसको लागि तयार छु ।’ फिलिप्सले खेलपाटीसँग भनेका छन् ।
ग्यारीले एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा पनि एक वर्ष काम गरेका थिए । २०७६ सालको कात्तिक महिनामा उनी एन्फाको टेक्निकल डाइरेक्टर बनेर नेपाल आएका थिए । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका तत्कालिन मुख्य प्रशिक्षक हरी खड्काले राजिनामा दिएपछि केहि समय नेपाल प्रशिक्षक विहिन बनेको थियो ।
एन्फाले २०७७ साल फागुनमा टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्सलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । कोरोना महामारी पछिको महिला फुटबललाई लयमा फर्काउनु उनलाई चुनौती थियो । नेपालले एसियन कप छनोट उनकै प्रशिक्षणमा खेलेको थियो ।
'त्योबेला हामीसँग सावित्रा भण्डारी साम्बा नहुनु एक ठुलो दुर्भाग्य बन्यो । साम्बा बिना पनि हामी एसियाली कपको लागि छनोटको धेरै नजिक थियौं । हामीसँग युवा टोली थियो । अन्तिम ५ मिनेटमा फिलिपिन्ससँग २–१ ले हार्यौं । त्यही फिलिपिन्स जो अहिले विश्वकपमा छ ।’
उनको प्रशिक्षणमा नेपालले ४ अन्तराष्ट्रिय खेल खेलेको थियो । जसमध्य नेपाली महिला टोलीको दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल थियो । जहाँ नेपालले १ खेलमा जित र एक खेलमा बराबरको नतिजा निकालेको थियो । लगत्तै नेपालले एसियन कप छनोट खेल्यो । अहिले विश्वकप खेलिरहेको टोली फिलिपिन्ससँग २–१ को हार व्यहोर्दा हङकङविरुद्ध गोल रहित बराबरी नतिजा निकाल्यो ।
ग्यारी फिलिप्सले पहिलोपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएका थिए ।
'तपाई नेपाली खेलाडी, मेडिकल टिम, फिजियो लगायत टेक्निकल कमिटीलाई सोध्न सक्नु हुन्छ । उहाँहरुको अनुभव कस्तो थियो मसँग काम गर्दा । मैले जहिल्यै नेपालको खेल्ने शैली आफ्नो छुट्टै हुनुपर्छ भन्ने सोचेर काम गरें ।’ ग्यारी भन्छन् ।
एसिया कप छनोटबाट बाहिरिएसँगै सम्झौता सकिएका फिलिस्पसँग तत्कालिन एन्फा नेतृत्वले नयाँ सम्झौता गरेन । फिलिप्सले नेपालमा रहँदा नेपाललाई ठुलो सहयोग गरेका थिए । खेलाडी मात्र होइन प्रशिक्षक उत्पादनका लागि समेत प्रशिक्षण दिएका थिए ।
नेपालले एएफसी एन्फा ‘बी’ कोचिङ कन्भेन्सनसमेत प्राप्त गर्न सक्नुमा उनको ठुलो योगदान छ । अहिले नेपालले एएफसीको ‘बी’ लाइसेन्सको आफै खाका विकास गरेर लाइसेन्स प्रदान गर्न पाउने अवस्थामा पुगेको छ ।
नेपालको महिला राष्ट्रिय फुटबल टोली लगत्तै उनले कुक आइसल्याण्डको राष्ट्रिय टोलीसँग बिश्वकप छनोटका लागि छोटो सम्झौता गरे । विश्वकपमा छनोट हुन नसके पनि छोटो समयमै विरलै नाम सुनिने टोलीलाई क्वाटरफाइनलसम्म पुर्याए ।
पीएनजीको महिला टिमको प्रशिक्षक र मलेसियाको शीर्ष डिभिजन क्लबको प्राविधिक निर्देशकको भूमिका सम्हालिसकेका ग्यारी नेपालको साफमा खेल नछुटाई हेरेको बताए ।
अनुभव साट्दै उनले भने, 'म साफको फाइनल घरमा हेरिरहेको थिएँ । बंगलादेशविरुद्द हार्दा एकदम निराश छु । तर बंगलादेश जितको हकदार थियो । उनीहरुको एकेडेमी संरचना राम्रो छ । पछिल्लो समय राम्रा खेलाडी उत्पादन भैरहेका छन् । भारत त्यति राम्रो थिएन । नेपाल र बंगलादेशले पराजित गरे किनकी भारत आफ्ना युवा खेलाडीलाई बिकास गर्ने माध्यम बनाउछ । भारतका केहि शीर्ष लिग खेल्ने खेलाडी उपस्तिथ थिएनन् भन्ने सुने । नेपालको खेलाडी छनोटले मलाई आश्चर्यमा पारेको थियो । वास्तवमा कुनै कुनै खेलाडीको आवश्यकता बमोजिमको स्तर थिएन । यो वास्तविकता हो ।’
भर्खरै मात्र साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि नेपालका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।