काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारीले नेपाललाई महिला साफको उपाधि दिलाउन नसकेकोमा माफी मागेकी छन् ।
सोमबार राति सामाजिक संजाल फेसबुकबाट फरवार्ड सावित्राले मागी मागेकी हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।
'साफ च्याम्पियनसिपको उपाधि जितेर समर्थकलाई खुसी दिलाउन फेरि एक पटक हामी असफल भएका छौं। त्यसका लागि फुटबल टोलीको सदस्यको नाताले माफी चाहन्छु। हामीले आफ्नोतर्फबाट हरसम्भव प्रयास गरेपनि फाइनलमा चाहे जस्तो नतिजा निकाल्न असफल भएका छौं। उच्च प्रदर्शनका साथ विजेता बंगलादेशलाई बधाई छ,' सावित्राले लेखेकी छिन्, 'आउने दिनमा हामी देशलाई साफ च्याम्पियनसिपको विजेता बनाउन प्रयास गर्नेछौं। उपाधि घरमै राख्ने लक्ष्य यसपटक पनि पूरा गर्न नसकेकोमा फेरि पनि माफी चाहन्छु।'