काठमाडौं । बेलायती फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका नेपाली समर्थकको टोली एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ ।
सन् २०१२ मा गठन भएको एमयुएफसीले आगामी असोज ६ गतेबाट हुने सी’ डिभिजन लिग छनौट खेल्ने भएको हो ।
एमयुएफसी गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो ।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि आगामी असोज ६ गतेबाट हुने ‘सी’ डिभिजन लिग छनौट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए ।
नेपालका अनुसार एमयुएफसी विजयचोक युथ क्लबबीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो ।
एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलका लागि सार्वजनिक गरेको तालिका अनुसार असोज ६ गतेबाट उपत्यकामा सुरु हुने छनौट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ ।
एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्। यी समूहका सबै खेल कार्तिक २४ गते समापन हुनेछ ।