काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि मुख्य प्रशिक्षक थापाले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
'आजैको दिनदेखि म यो टिम छोड्छु ।' कुमारले पत्रकार सम्मेलनमा भने, 'मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु । सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।'
उनले साफका लागि राम्रो तयारी भएपनि उपाधि जिताउन नसकेको उल्लेख गरे । 'हाम्रो तयारी राम्रो थियो । मैले पाएको ७ हप्ता पर्याप्त थियो । मैले सम्पुर्ण कुरा दिए तर उपाधि दिन सकिन ।' कुमारले भने ।
उनले घरेलु फुटबलको संरचनाप्रति निराशा ब्यक्त गर्दै महिला फुटबल विभागीय टिमले टिकेको तितो यथार्थ पोखे ।
'हाम्रो घरेलु महिला फुटबलको संरचना विभागमा मात्र सिमित छ । एन्फासँग योजना होला, आगामी दिनमा नयाँ प्रतिभालाई खोज्ला । त्यो मेरो हातको कुरा हैन । एन्फाले महिला फुटबललाई प्राथमिकतामा राखेर योजना बनाउने विश्वास छ ।' कुमारले भने ।
उनले प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा हार ब्यहोर्नु परेको बताए । 'हामीले अवसरलाई बदल्न सकेनौं । साना साना गल्ती गर्यौ । गोल खादा मानसिक रुपमा निराश बन्यौ ।' उनले भने, 'सावित्रा र रश्मीले हानेको गोल हुन सकेन । नत्र नतिजा फरक हुन्थ्यो ।'
उनले बंगलादेशले भारतसँग भन्दा कमजोर खेल प्रर्दशन गरेको उल्लेख गर्दै फुटबलमा कहिले काही यस्तो नतिजा आउने बताए ।
प्रशिक्षक कुमारले भारतभन्दा बंगलादेशको टिम राम्रो देखिएको बताए । उनले नेपालको स्तर उही रहेको उल्लेख गर्दै आगामी दिनमा महिला फुटबलमा थप चुनौती थपिएको बताए । उनले नेपालको स्तरभन्दा माथि जान लागेको बंगलादेश सहितको अन्य देशको प्रगतिलाई स्विकार गर्नुपर्ने उल्लेख गरे ।
नेपालकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले खेलाडीले म्याच एक्सपोजर नपाएको गुनासो गरिन् । उनले वर्षमा एउटा पनि प्रतियोगिता राम्ररी नहुने गरेको तितो यथार्थ प्रस्तुत गर्दै अनुभवको कमी रहेको गुनासो गरिन् ।