काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।
छैटौं संस्करणको महिला साफको फाइनल अघि आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक थापाले उपाधि ट्रफी घर बाहिर जान नदिने मुख्य लक्ष्य रहेको बताएका हुन् ।
'यो साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहेनत गरेका छौँ । हाम्रो लागि साफको स्टार जर्सी लगाउने सपना छ,' प्रशिक्षक थापाले भने, 'त्यसको लागि जे पनि गर्नेछौँ । चाहे विरामी खेलाडी रिकभरी गरेर हुन्छ की केहि गरेर हुन्छ । हाम्रो लक्ष्य नै ट्रफी बाहिर जान नदिने हो ।'
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि सोमबार हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक थापाले उपाधि घरमै राख्ने अवसरलाई खेर नफाल्ने बताए ।
'साफको फाइनलमा हुन पाउनु हाम्रो लागि सम्मान हो । हामी यो मौका गुमाउने छैनौँ । हाम्रो समर्थकलाई खुशी हुने अवसर छ । हामी आयोजक राष्ट्र हौँ । हामी च्याम्पियन बन्न चाहन्छौं,' थापाले भने ।
नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनलमा खेल्न लागेको हो । यस्तै महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ । किनकी ५ संस्करणको विजेता भारत सेमिफाइनलमै रोकिएको छ ।
नेपालले यस अघि ४ पटक फाइनल खेलिसकेको छ । तर, फाइनलमा भारतसँग स्तब्ध हुँदै आएको थियो । बंगलादेश भने दोस्रो पटक फाइनल खेल्न लागेको हो ।
प्रशिक्षक थापाले बंगलादेशको टोली राम्रो भएको समेत बताए ।
'बंगलादेशको टिम इनर्जी र स्प्रिट राम्रो छ । हामी उनीहरुलाई आदर गर्छौं । पहिलेको भन्दा बंगलादेश नयाँ र बलियो छ । मौषमले साथ दियो भने राम्रो खेल देखियोस भन्ने कामना गर्छु,' थापाले थपे,'हामीसँग अनुभव छ । हाम्रो बलियो पक्ष टिम वर्क हो ।'
थापाले फरवार्ड सावित्रा भण्डारी र मन्जली कुमारी योन्जन रिकभरीको प्रोसेसमै रहेको बताए । दुबै जनाले डेंगुको कारण अघिल्ला दुई खेल गुमाएका थिए ।
नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफुहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको बताईन् ।
'हामी फाइनल खेल्न गैरहेका छौँ । यो पटक मानसिक र शारीरिक रुपमा हामी बलियो छौँ । बंगलादेश पहिलेको भन्दा आज राम्रो छ । भारत भन्दा राम्रो छ । तर, हामी बलियो छौँ,' कप्तान एन्जिलाले भनिन्, 'भोलि जित्ने छौँ भन्नेमा विश्वस्त छौँ ।'

कप्तान एन्जिलाले बोलेर भन्दा गरेर देखाउने बताईन् ।
'भारतलाई पहिलो पटक जितेर इतिहास बनायौं । हाम्रो टिमको प्रयासले हो । बोलेर भन्दा गरेर देखाउन बाँकी छ,' एन्जिलाले थपिन् ।
बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले नेपाल बलियो भएपनि फाइनलका लागि आफुहरु तयार भएको बताए।
'हामीलाई बंगलादेश फुटबलले सबै सपोर्ट गरेको छ । हामी मानिसिक रुपमा फाइनलका लागि तयार छौँ । अह्मिले दुई दिन धेरै रिफ्रेस गर्यौं । नेपाल बलियो टिम हो । घरेलु टोलीलाई जित्न सधै कठिन हुन्छ । खेल प्रतिस्पर्धात्मक हुन्छ,' उनले भने ।
प्रशिक्षक रिब्बानीले समर्थकले नेपाली फुटबललाई धेरै सहयोग गरेको बताए ।
कप्तान सबिना खातुनले फाइनलका लागि तयार भएको बताईन् ।
'हामी तयार छौँ । हामीसँग राम्रो अनुभव छ । फाइनलमा दबाब लिनको लागि खेलाडी तयार छन्,' उनले भनिन् ।