कैलाली । धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा प्रतियोगिता हुने भएको हो ।
शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक पिएफए स्पोटर्स क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुदमा भाग लिने ७ प्रदेशका टोली र एक घरेलु टोली ८ टिमको सहभागीता रहने प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ । हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।