काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अट्याकिङ मिडफिल्डर प्रिती राईलाई उम्ब्रो नेपालले वार्षिक ६ लाखको प्रायोजन सम्झौता गरेको छ ।
काठमाडौंमा जारी महिला साफ फुटबलमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी प्रितीलाई उम्ब्रो नेपालले वार्षिक ६ लाखको प्रायोजन गरेको हो ।
महिला साफमा प्रिती खेल कौशलको सम्मान गर्दै उम्ब्रो नेपालले प्रायोजन सम्झौता गरेको जनाएको छ ।
प्रिती र उम्ब्रो नेपालबीच एक वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार प्रितीले मासिक २५ हजार रुपैयाँ र सोही मूल्य बराबरको उम्ब्रोको किट प्राप्त गर्नेछिन् ।

उमेर समूहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आएकी प्रिती सिनियर टिममा समेत उस्तै प्रभावशाली देखिएकी छिन् । शुक्रबार महिला साफको सेमिफाइनलमा भारतलाई पराजित गर्दा प्रितीको प्रर्दशन जबरजस्त देखिएको थियो ।
सानै उमेरमा महिला फुटबलको उनको उपस्थिती बलियो देखिएको छ । प्रितीकै असिस्टमा भारतविरुद्ध नेपालकी रश्मीकुमार घिसिङले गोल गरेकी थिईन् । सोही गोल नेपाललाई ऐतिहासिक जित दिलाउँदै महिला साफमा फाइनलमा पुर्याउन पर्याप्त रह्यो ।
'नेपाली महिला टिमको प्रर्दशन हेर्दा प्रितीको खेलप्रति जुन समर्पण देखिएको छ । त्यसैको सम्मान गरेर उम्रो नेपालले प्रायोजन गरेको हो ।' भाटभटेनी होल्डिङ्सका हेड अफ विजनेश डेभलोपमेन्ट आलोक जोशीले भने, 'यसले खेलकुदमा महिला खेलाडीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छौं ।'
जोशीले प्रितीसँगको सम्झौता यही महिनादेखि लागु हुने जानकारी दिए । 'उहाँलाई वार्षिक ६ लाख रूपैयाँकाे प्रायाेजन गरेका हाै । सम्झाैता यही महिनादेखि लागू हुनेछ ।’ उनले थपे ।

उम्रो नेपाल विश्व प्रख्यात खेलकुदको ब्राण्ड हो । नेपालमा उम्रोका सामानहरु भाटभटेनी सुपर मार्केटका स्टोरहरुमा पाईन्छन् ।
प्रितीले गत वर्षको भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।
प्रितीले नेपालको यू-१५ र यू-१८ टोलीको कप्तानी गरिसकेकी छिन् ।