काठमाडौं । जुन डर थियो, त्यस्तै भयो । वुमेन्स साफ च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा नेपालले सेमिफाइनलमै भारतको सामना गर्न नपरोस भन्ने थियो । त्यही भयो । फेरि यसलाई यसरी पनि लिन सकिन्छ, भारतलाई सेमिफाइनलमै पार लगाउन सकिन्छ भने किन फाइनल नै कुर्न पर्यो ? अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले सबैभन्दा बढी सामना गरेको टिम भारत नै हो ।
यिनै दुई टिमबीच आज एक अर्को खेल हुँदैछ, दुई टिमबीचको १५ औं । अहिलेसम्म भएका १४ खेलको हिसाब किताब भने यस्तो छ, ११ हार, दुई बराबरी, एक जित । नेपालले भारतको सामना गर्दायताको सुरुआती पाँच खेलमा नेपाल लगातार पराजित रह्यो । त्यसपछि सन् २०१६ मा पहिलो बराबरीमा निस्क्यो, १२ औं दक्षिण एसियाली खेलकुदका क्रममा ।
त्यसपछि थप दुई हारपछि नेपालले एक अर्को बराबरीमा निकालेको थियो, सन् २०१८ मा । अवसर थियो, वुमेन्स प्रारम्भिक ओलम्पिक छनोट । भारतमाथि नेपालको एकै मात्र जित भने सन् २०१९ मा रह्यो । त्यति बेला नेपालले वुमेन्स गोल्डकपमा भारतलाई भारतमै २–१ ले हराएको थियो । फेरि त्यसयतामा चार खेलमा नेपाल पराजित रहेको छ ।
भुवनेश्वरमा प्राप्त त्यसमा जितमा दुवै गोल सावित्रा भण्डारीले गरेका थिए । भारतविरुद्ध सर्वाधिक गोल गर्ने पनि उनी नै हुन् । अहिलेसम्म नेपालले भारतविरुद्ध आठ गोल गरेको छ, त्यसमध्ये चार गोल सावित्राकै नाममा छ । त्यसपछि निरु थापाले दुई गोल गरेकी छिन् । अनि जमुना गुरुङ र दीपा अधिकारीले एक एक गोल गरेका छन् ।