काठमाडौं । नेपाली राष्ट्रिय यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन् ।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक श्रेष्ठले फाइनल खेल कठिन हुने बताएका हुन् ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा भोलि बुधबार हुने फाइनलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।
'हिजो भारतले बंगलादेशविरुद्ध उत्कृष्ट खेल्यो । नेपालले पनि उत्कृष्ट खेल्यो । हाम्रो कप्तान टिममा फर्किएका छन् । मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,' मुख्य प्रशिक्षक श्रेष्ठले भने ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।
प्रशिक्षक श्रेष्ठले फाइनल खेल अघिल्ला खेलजस्तै महेनत गरेर खेल्ने बताए । उनले फाइनलका लागि टिम तयार भएको बताए ।
'खेलाडीहरु पूर्ण फिट छन् । कप्तान फर्किएका छन् । खेलाडीले आफ्नो प्राकृतिक खेल खेलिरहेका छन् । फाइनल खेल टिम गेमको रुपमा खेल्छौं, महेनत गरेर खेल्छौं,' मुख्य प्रशिक्षक श्रेष्ठले थपे ।
प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो ।
नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । बुधबार नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ ।
यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।