काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग भेटवार्ता गरेका छन् ।
कतार भ्रमणमा रहेका अध्यक्ष नेम्वाङले सोमबार दोहामा फिफा अध्यक्ष इन्फान्टिनोसँग भेटवार्ता गरेका हुन् ।
भेटमा फिफा अध्यक्ष इन्फान्टिनोले नेम्वाङलाई एन्फा अध्यक्षमा निर्वाचित भएकोमा पुनः बधाई दिएका थिए ।
नेम्वाङले भेटमा इन्फान्टिनोलाई नेपालमा चलिरहेको साफ महिला च्याम्पियनसिपबारे जानकारी गराएको र इन्फान्टिनोसँग फुटबल सम्बन्धी अन्य विषयमा छलफल भएको एन्फाले जनाएको छ ।
नेम्वाङले एन्फालाई सहयोग गरेकोमा फिफाप्रति आभार व्यक्त गर्दै वर्तमान कार्यसमिति देशमा फुटबलको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै यसका लागि फिफासँग थप सहयोगको अपेक्षा गरेको बताए। नेम्वाङले उठाएका विषयप्रति इन्फान्टिनो सकारात्मक रहेको एन्फाले जनाएको छ ।
नेम्वाङले यस अघि शनिबार दोहामा कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेट गरेका थिए ।