काठमाडौं । नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियनसिपमा आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएकी छन् ।
पछिल्लो समय निकै फैलिरहेको डेंगुको संक्रमण भएर ज्वरो आएकोले सावित्रा आजको खेलमा अनुपस्थित रहने छिन । यस्तै राष्ट्रिय टोलीकै सदस्य मन्जली योन्जन र गोलकिपर प्रशिक्षक सुरज कुमार लामा पनि डेंगुबाट संक्रमित भएका छन् ।
दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।
समूह 'बी' को नेपालले १ खेलमा ३ अंक जोडेको छ । श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो । सो खेलमा सावित्राले २ गोल गरेकी थिइन् ।