के होला लिभरपुलमा क्लोपको भविष्य ?

काठमाडौं। गत सिजन लिभरपुल 'क्वड्रपल' अर्थात् एक सिजनमा चार मुख्य उपाधिको नजिक थियो । तर, रियल मड्रिडविरूद्ध च्याम्पियन्स लिगको फाइनलमा हारेको चार महिनापछि योर्गेन क्लोप आफ्नो टोलीले अहिले 'आफूलाई पुन: आविष्कार' गर्नु आवश्यक रहेको ठान्छन्।
बुधबार च्याम्पियन्स लिगमा नापोलीविरूद्ध ४-१ को लज्जास्पद हारको सामना गरेको लिभरपुलले यस सिजन सबै प्रतियोगितामा गरि पहिलो सात खेलमा केवल दुई जित मात्रै निकालेको छ ।
पूर्व इंग्ल्यान्ड डिफेन्डर जोनाथन वुडगेटले भने, 'नापोलीले लिभरपुललाई 'तहसनहस' गर्यो । लिभरपुलमा ऊर्जाको अभाव थियो ।'
पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डर रियो फर्डिनान्डले हारलाई 'लज्जास्पद' भने । यहिं सूचीमा थपिए लिभरपुलका पूर्व स्ट्राइकर माइकल ओवेन पनि । उनले भने, ' लिभरपुलको लागि यो बिर्सनलायक सिजन बन्न सक्छ ।'
क्लोपले सन् २०१५ मा आफ्नो आगमनपछि लिभरपुलमा सफलताको 'निंव' राखेका छन् । तर यो सिजनको चिन्ताजनक सुरुआत हेर्दा के अब परिवर्तनको समय आएको हो ? यस प्रश्नलाई अस्वाभाविक नमान्ने जमात पनि ठुलै छ ।
लिभरपुल पहिलो हाफमा ३-० ले पछि परेको थियो । खेलको अन्त्य सम्ममा उसले च्याम्पियन्स लिगमा सबैभन्दा खराब हार मध्यको एक व्यहोर्यो ।
'हामीले पहिलो हाफमा नराम्रो खेल्यौं तर सामान्यत: हामी तीन गोल स्वीकार गर्दैनौं', क्लोपले हारपछी भने ।
उनले आफ्नो टोलीलाई यस सिजन चोटग्रस्त देखेका छन् । समरमा साडियो मानेलाई बायर्न म्युनिखसँग गुमाएको देखेका छन् । क्लोप आजकल आफ्नै टोलीप्रति अलि कठोर सुनिन थालेका छन् ।
'एलिसन हुँदा हुँदै गोल खानलाई तपाई साँच्चै खराब हुनुपर्दछ । हामीले आफैलाई पुन: आविष्कार गर्नुपर्ने देखिन्छ । यहाँ धेरै चीजहरूको अभाव छ । हामीले शनिबार वुल्भ्सविरुद्ध खेल्नुछ । उनीहरु सायद हाँसिरहेका छन् । उनीहरुको साथसाथ मलाई पनि लाग्छ कि यो लिभरपूलविरूद्ध खेल्नको लागि उत्तम समय हो । हामीले सबै कुरामा राम्रो सेट अप गर्नुपर्छ,' क्लोपले थपे, 'फुटबलमा सधैं समाधान हुन्छ । हामीले पर्याप्त राम्रो खेलिरहेका छैनौ त्यो स्पष्ट छ त्यसैले हामी खेल हारिरहेका छौँ । त्यहाँ मेरो जिम्मेवारी छ । मलाई यो सोच्न समय चाहिन्छ ।'
लिभरपुलका लेफ्ट-ब्याक एन्डी रोबर्टसनले भने, 'पराजय पछि खेलाडीहरू आफ्नो धरातलमा फर्कन आवश्यक छ । हामीले धेरै स्पेस खुला राख्यौँ । हामी यस्तो गर्न सक्दैनौँ । हामी यो नतिजाको हकदार थियौं । हामी लड्न तयार हुनुपर्दछ । हामी साथीहरू एक आपसमा नजिक थिएनौं । हामी त्यस्तो प्रदर्शन गर्न सक्दैनौ त्यसैले हामी छिटो उठ्नुपर्छ ।'
विशेष गरी जो गोमेज र ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले इटालियन टोलीविरुद्ध संघर्ष गर्दा नेपल्समा व्यक्तिगत गल्तिहरु नै हारको कारण बन्यो ।
पाँचौं मिनेटमा पिओटर जिइलिन्स्कीले नापोलीलाई अग्रता दिलाएपछि आन्द्रे-फ्राङ्क एन्गुइसा र जियोभानी सिमोनीले ब्रेकसम्म ३–० को अग्रता बनाएका थिए । दोस्रो हाफको दुई मिनेटमा जिलिन्स्कीले फेरि गोल गरे । लुइस डियाजले एक गोल फर्काउदासम्म क्षति भइसकेको थियो ।
फर्डिनान्ड भन्छन, 'तपाई क्लोपको रिस देख्न सक्नुहुन्छ ।'
उनले लिभरपुलका खेलाडीको इच्छाशक्तिमा प्रश्न उठाए । जबकि पूर्व डिफेन्डर जेमी क्यारागरले यसलाई 'रक्षात्मक कमजोरी' भनेर वर्णन गरे ।
'कुनै प्रशिक्षकले आफैलाई पुन: आविष्कार गर्नुपर्छ भन्नु ठुलो टिप्पणी हो । यो गहिरो कुरा हो । केहि खेलाडीहरू छन् जसलाई क्लोप ग्रिल गर्न सक्छन । उनको सफलता प्रतिबद्धतामा आधारित छ । उनको टोली अहिले जुन तरिकाले खेलिरहेको छ त्यसले त्यो सफलता प्राप्त गर्दैन । तपाईले भन्न सक्नुहुन्छ लिभरपुलमा चाहना र लडाईको कमी थियो । सबै चीजहरूको अभाव थियो । लिभरपुलका ठूला स्टार खेलाडीहरू हामीले देख्दै आएको स्तरको नजिक पनि छैनन्,' फर्डिनान्डले थपे ।
क्लोप भन्छन, 'क्लब मालिकहरू मैले सबैकुरा मिलाउने अपेक्षा राख्छन ।' तर के क्लोप समाधान खोज्न सकिरहेका छैनन् त ?
लिभरपुलमा च्याम्पियन्स लिग, ३० वर्षपछी पहिलो पटक प्रिमियर लिग र साथमा हरेक घरेलु ट्रफी जितेका जर्मन प्रशिक्षकले भने, 'यस बारेमा सोच्न समय चाहिन्छ । हामी डिफेन्स वा अट्याक कुनैरूपमा पनि संकुचित थिएनौं । सबै कुरा स्पष्ट छ तर यो किन भयो म अहिले जवाफ दिन सक्दिन । यो साँच्चै गाह्रो कुरा हो तर मैले यसलाई स्विकार्नु पर्छ।'
चेल्सीले थोमस टुचेललाई बर्खास्त गरेको दिन क्लोपलाई पनि पत्रकार सम्मेलनमा सोधिएको थियो के उनी आफ्नो पदको लागि चिन्तित छन् ? या छैनन् ?
'वास्तवमा छैन । हाम्रा क्लब मालिकहरू शान्त छन् र मैले परिस्थितिलाई सामान्य गर्ने अपेक्षा गर्दछन् । अरू केहि सोच्दैनन्,' उनले जवाफ दिए ।
जुन लिभरपुलले गत सिजन धेरै प्रयास पछि प्रिमियर लिगको उपाधि दौडमा म्यानचेस्टर सिटीसँग मात्र एक अंकको दुरी बनायो । च्याम्पियन्स लिगको फाइनल पुग्यो र दुई घरेलु कप जित्यो । त्यही लिभरपुलको २०२२-२३ को प्रदर्शन ठिक उल्टो छ ।