काठमाडौं । ब्राजिली स्टार रिचर्डलिसन चम्किएको खेलमा टोटेनहमले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।
बुधबार राति टोटेनहमले रिचर्डलिसनको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब मार्सेलीलाई २–० ले हराएको हो ।
बराबरीतर्फ उन्मुख खेलमा टोटेनहमका लागि रिचर्डलिसनले अन्तिम समयमा दुई गोल गरेका थिए । उनले ७६ औं मिनेटमा क्लबका लागि पहिलो गोल गरे ।
त्यसको ५ मिनेटमा उनले दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए । दोस्रो हाफको सुरुवातमै चान्सल मबेम्बा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली मार्सेली १० खेलाडीमा सिमिति बनेको थियो ।
टोटनहमले रिचर्डलिसनलाई यसै सिजन एभर्टनबाट ६० मिलियन पाउण्ड तिरेर क्लबमा अनुबन्ध गरेको थियो । समूह डीमा टोटेनहमले तीन अंक जोडेको छ ।
सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ ।