शीर्षस्थानको मच्छिन्द्रको सहज जित
-1770375849820.jpg&w=3840&q=75)
काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखाविरुद्ध सहज जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले २–० गोल अन्तरले हराएको हो। लिगमा भागवतीको यो चौथो हार हो। मच्छिन्द्रको भने पाँचौं जित हो।
जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ६ खेल खेल्दै १६ अंक पुर्याएको छ। समान खेलबाट भगवतीको ४ अंक छ।
मच्छिन्द्र सुरुदेखि नै आक्रामक खेल्दा भगवती भने डिफेन्सिप देखिएको थियो। तर, दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ४३ औं मिनेटमा मच्छिन्द्रको इसाक अनोहले दिएको पासलाई प्रदीप भण्डारीले प्रहार गरेका थिए। तर, गोल हुनबाट चुक्यो। पहिलो हाफको इन्जुरी समयमा मच्छिन्द्रको जोनाथन क्यान्टिलानाले गरेको प्रहारलाई भागवतीका कप्तान कृषल मोक्तानले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।
५१औं मिनेटमा फ्रैंकको पासमा जोनाथनको प्रहारले लक्ष्य छुन सकेन। त्यसको दुई मिनेटपछि जोनाथनको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए।
५७ औं मिनेटमा दिवाकर चौधरीको पासमा फ्रैंकले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए।














