चर्च ब्वाइजसँग पराजित भयो पुलिस

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडसँग पराजित भएको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसलाई ३–० को गोल अन्तरले हराएको हो। लिगमा पुलिसको यो तेस्रो हार हो। भने चर्च ब्वाइजको तेस्रो जित हो।
यो जितसँगै राष्ट्रिय लिगमा चर्च ब्वाइजले ५ खेलमा १० अंक जोडेको छ। भने पुलिसको समान खेलमा ४ अंक रहेको छ। खेलको २७औं मिनेटमा पुलिसको मनिष सेढाईले गरेको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर प्रमिजय गच्छदारले बचाउ गरे।
३१औं मिनेटमा चर्च ब्वाइजका रिचार्ड कोफी जुनियर विल्सनको पासमा मिलन राईले प्रहार गरेको गोलले लक्ष्य भेट्न सकेन। त्यस्तै ३४औं मिनेटमा चर्च ब्वाइजका प्रवेश कुँवरले पहेलो कार्ड पाए।
उनले पुलिस पुलिसका रामचन्द्र वाजीलाई लडाएपछि पहेंलो कार्ड पाएको हो। यसको तीन मिनेटपछि रिचार्ड कोफी जुनियरले विल्सनले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए।
उनले गोलपोस्टको दायाँपट्टि पेनाल्टी बक्स भित्रबाट गोल प्रहार गरेका थिए। ५३औं मिनेटमा अब्योमी ओलुवसेउनले उत्कृष्ट गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए।
७९औं मिनेटमा मनोज राईले गोल गर्दै चर्च ब्वाइजलाई सहज जित दिलाए।













