काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।
बुधबार राति भएको समूह चरणको पहिलो खेलमा नापोलीले प्रिमियर लिग क्लब लिभरपुललाई ४–१ गोल अन्तरले हराएको हो ।
नापोलीको जितमा जिलिस्की पेनले दुई, जाम्बो एन्गुइसा र जियोवानी शिमोनले एक एक गोल गरे । लिभरपुलका लुइज डियाजले एक गोल फर्काए ।
पहिलो हाफमै लिभरपुल क्लब ३–० ले पछि परेको थियो । लिभरपुलका लागि समूह एको पहिलो खेल बिर्सनलायक रह्यो ।
खेलमा अग्रता नापोलीले जिलिस्कीको पेनाल्टी गोलमा लिएको थियो । एन्गुइसाले नापोलीको अग्रता दोब्बर बनाउने काम गरे । खेल सकिन एक मिनेट अघि सिमोनले घरेलु टोलीका लागि तेस्रो गोल गरे ।
जिलिस्कीले दोस्रो हाफको सुरुवातमै गोल गर्दै इटालियन क्लबलाई ४–० को फराकिलो अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको लिभरपुलका लागि डियाजले गोल गर्दै अन्तर घटाउने काम गरेका थिए । तर घरेलु टोलीले दोस्रो हाफ समेत आफ्नो नियन्त्रणमा राखेको थियो ।
समुह एमा रहेको नापोलीले तीन अंक जोडेको छ । सोही समुहको अर्को खेलमा डच क्लब आजाक्सले रेन्जर्सलाई हराएर तीन अंक बटुलेको छ ।