काठमाडौं । बंगलादेशले नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुआत गरेको हो ।
बंगलादेशलाई जित दिलाउन कप्तान सबिना खातुनले दुई गोल गरिन् ।
यस्तै मसुरा प्रभिनले एक गोल गरिन् ।
बंगलादेशले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको ३२ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
खेलको ३४ औं मिनेटमा मसुराले गोल गर्दा बंगलादेशले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ४० औं मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को ज्जित दिलाईन् ।
यस जितसँगै समूह 'ए' को बंगलादेशले पहिलो खेलमै ३ अंक जोडेको छ ।
माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
यसै समूहको खेलमा भारतले पाकिस्तानलाई ३-० ले नै हराएको थियो ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।