काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सुखद सुरुआत गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा सेभियालाई ४-० गोल अन्तरले हराउँदै सिटीले सुखद सुरुआत गरेको हो ।
सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे ।
फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे ।

खेलको २० औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए ।
५८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ६७ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा डियासले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।

जितसँगै सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह जीको सिटी शीर्ष स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई हराएको छ ।