'योजना अनुसार खेल भयो, जितमा खुशी छौँ'

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुआत गर्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन् ।
जितपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापा खुशी देखिए । मौषमको कारण समस्या भएपनि नतिजाबाट सन्तुष्ट रहेको थापाले बताए ।
'हामीले मौषम र स्कोर अनुमान गरेका थिएनौं । गोल हेर्ने हो भने मौषमले गर्दा समयमै निकाल्न सकेनौं,' खेलपछि थापाले भने, 'सन्तुष्ट छु प्रदर्शनमा । जुन योजना बनाएको थिए, दोस्रो हाफमा त्यो पूरा भयो ।'
मुख्य प्रशिक्षक थापाले भुटानले पनि राम्रो खेलेको बताए । उनले श्रीलंकासँगको खेलमा खेल्ने शैली परिवर्तन नहुने बताए ।
भुटानविरुद्धको खेलमा वुमन्स अफ द म्याच बनेकी अनिता बस्नेतले आफु पुरानै लयमा फर्किएको प्रमाणित गर्न सफल भएको बताईन् ।
'पहिलो हाफमा गार्हो भएको थियो । दोस्रो हाफमा सजिलो भयो,' दुई गोल गरेकी अनिताले भनिन्, 'पक्कै पनि गत वर्ष मैले राम्रो गर्न सकेको थिएन । प्रमाणित गरे पहिलेकै लयमा फर्किएको छु ।'
भुटानका प्रशिक्षक टंक माया घलेले नेपालले राम्रो खेलेको बताईन् । नेपालको स्तरमा आउन भुटानी टोलीलाई लामो समय लाग्ने उनले बताईन् ।
'हामीले राम्रो गरेको हो तर हामीले जित निकाल्न सकेनौँ। यो फुटबल हो। पानी पर्यो त्यो दुखद् कुरा हो । यसले आफ्नो पाटोमा असर त गरेको नै छ। अर्को खेलमा हामी हाम्रो बेस्ट दिनेछौं,' उनले भनिन्, 'आज नेपालले राम्रो खेल्यो। हामी पनि क्लोजरमा आएका छौं। हामीलाई नेपालसम्मको स्तरमा आइपुग्नका धेरै समय लाग्छ। नेपाल बलियो थियो। उसको स्पिड पनि राम्रो थियो।'







-1770375849820.jpg&w=3840&q=75)






