काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलमा नेपालले आज मंगलबार भुटानको सामना गर्दैछ । नेपालले आफ्नो महिला फुटबलको इतिहासमा भुटानको तीन पल्ट सामना गरेको छ र यी तीनै अवसर महिला साफ च्याम्पियनसिपले नै जुराएको छ । यी तीन खेलको विशेषता रहेको छ, तीन सहज जित र तीन क्लिनसिट ।
नेपालले सबैभन्दा भुटानको सामना गरेको भनेको सन् २०१४ को संस्करणमा हो, जति बेला यसको आयोजना पाकिस्तानको इस्लामावादमा भएको थियो । त्यसमा नेपाल ८–० ले विजयी रह्यो । दोस्रो भेट २०१६ को भेट सिलगुढीमा भएको थियो, जसमा अहिलेका प्रशिक्षक कुमार थापाको नेतृत्वमा नेपालले पहिलो पल्ट खेलेको थियो ।
त्यसमा पनि नेपाल ८–० ले नै विजयी रह्यो । यी दुई टिमबीचको तेस्रो खेल भने सन् २०१९ मा विराटनगरमा भएको थियो, जसमा नेपालको जित अन्तर केही कम रह्यो, खालि ३–० को । समग्रमा भन्दा नेपालले भुटानविरुद्ध तीन खेलमा कुनै गोल त खाएको छैन् नै, उल्टै २० गोल गरेको छ, अझ त्यसमध्ये सावित्रा भण्डारीको नाममै मात्र आठ गोल रहेको छ ।
त्यसमा एक दोहोरो ह्याट्रिक पनि सामेल रहेको छ । सावित्राको पहिलो गोल पनि भुटानविरुद्ध नै हो, इस्लामावादमा । यो उनको डेब्यु खेल पनि हो । त्यस बाहेक सजना राना, अनु लामा, दीपा अधिकारी र मेनुका गिरीले दुई दुई गोल गरेका छन् । यस्तै शर्मिला थापा, कृष्णा खत्री, अञ्जलीकुमारी योञ्जन र निरु थापाले एक एक गोल गरेका छन् ।