काठमाडौं । साविक विजेता भारतलाई नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन बाटो खुलेको छ ।
विश्व फुटबलको सर्वोच्च फिफाबाट अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथिको प्रतिबन्ध फुकुवासँगै भारतलाई महिला साफ खेल्न बाटो खुलेको हो ।
फिफाले शुक्रबार भारतमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । अब भारतले महिला साफको उपाधि रक्षा गर्न पाउने छ।
नेपालको विराटनगरमा भएको अघिल्लो संस्करणको महिला साफको फाइनलमा नेपाललाई ३-१ ले हराएर भारतले उपाधि जितेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।
साफले यस अघि सार्वजनिक गरेको खेल समूह विभाजन अनुसार समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा नेपाल, श्रीलंका र भुटान रहेको छ ।