काठमाडौं । गत साता घरमा ब्राइटनसंगको हार म्यानचेस्टर युनाइटेड र नयाँ प्रशिक्षक एरिक टेन ह्यागका लागि चेतावनी थियो । ब्रेन्टफोर्डमा शनिबारको लज्जास्पद हारले भने खतराको घण्टी बजाइदिएको छ ।
रेड डेभिल्सले नयाँ सिजनको पहिलो अवे खेलमा ४–० को लज्जास्पद नतिजा बेहोर्यो । दुई खेलपछि युनाइटेड लिगको अंक तालिकामा पुछारमा छ । अब उसले कडा जवाफ खोज्नु पर्नेछ ।
उसो त ब्राइटन र ब्रेन्टफोर्ड दुवै प्रिमियर लिगका महारथी होइनन् । यी टोलीलाई ‘बिग सिक्स’ मानिदैन । तर म्यानचेस्टर युनाइटेडको यो भन्दा ठुलो दुर्गती अरु के हुन सक्छ, उसलाई यिनै क्लबले लज्जास्पद हार चखाए । तालिकाको सबैभन्दा पुछारको टोली बनेको छ, युनाइटेड । टेन ह्याग र उनको टोली यो भन्दा अरु कतिसम्म तल झर्न सक्छ ?
इङ्ल्यान्डका पूर्व स्ट्राइकर एलन शियररले भने, ‘यो एकदम भताभुङ्ग भैरहेको छ । वर्षौको असफलता, वर्षौको असफल व्यवस्थापन, नेतृत्वको अभाव छ । नयाँ राम्रा खेलाडी युनाइटेड आउन चाहदैनन् । स्थिति भयावह भएको छ ।’
‘सबै ठीक गर्न समय लाग्नेछ । ठुलो रकम खर्चिनेछ । म्यानचेस्टर युनाइटेडका प्रशंसकले धेरै धैर्यता देखाए । उनीहरू जहाँ हुन चाहन्छन्, त्यहाँबाट धेरै टाढा छन् ।’
पूर्व कप्तान गेरी नेभिलले त भनिदिए, ‘यो टोलीको अवस्था दर्दनाक छ । एक बिलियन पैसा खर्च गर्दा पनि यो असफलता ? हामी म्यानचेस्टर युनाइटेडको विनाश देखिरहेका छौं । लुक्ने ठाउँ छैन ।’
तथ्याङ्कले टेन ह्यागको लागि पनि राम्रो भन्दैन । उनी सन् १९२१ मा जोन च्यापम्यानपछि क्लबको सुरुवाती दुई खेलहरू गुमाउने पहिलो प्रशिक्षक बने ।
हाल ओल्ड ट्राफोर्डमा क्लबका मालिक ग्लेजरको स्वामित्वलाई लिएर धेरै विरोध भैरहेको छ । मे २०२१ मा भएको बिरोधले लिभरपुलविरुद्ध रेड डेभिल्सको खेल स्थगितसम्म गरेको थियो । सन् २००५ देखि क्लबको स्वामित्व लिएको अमेरिकी परिवारबिरूद्ध युनाइटेडका फ्यानले कट्टर प्रतिद्वन्द्वी लिभरपुरबिरुद्दको आगामी खेलमा अर्को विरोधको योजना बनाइरहेका छन् ।
युनाइटेडलाई युरोपमा ‘ठट्टा’ र ‘मजाक’ को रुपमा हेर्न थालिएको छ ।
हारपछि स्तब्ध टेन ह्यागले स्वीकार गरे, ‘युनाइटेडलाई गुणस्तरीय खेलाडी चाहिएको छ । तर यो स्थितिमा कुन खेलाडी यहाँ आउन चाहन्छ ?’
बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डे योङको लागि युनाइटेडको लामो कसरत रोकिरहेको छ । डचम्यान स्पेनिस क्लबलाई छोड्न मानिरहेका छैनन् । अब बार्साले नै उनलाई पठाउन जबरजस्ती गरिरहेको छ । तर पनि कुरा मिलिरहेको छैन । यसको प्रमुख कारण युनाइटेडको दुर्दशानै हो । उसंग च्याम्पियन्स लिगको प्रतिष्पर्धा छैन । क्लबमा रोनाल्डो जस्ता खेलाडी त नचाही नचाही बस्न परिरहेको छ ।
युनाइटेडले यो समरमा टायरेल मलासिया, क्रिस्चियन एरिक्सन र लिसान्ड्रो मार्टिनेजमा ६५ मिलियन पाउन्ड भन्दा बढी खर्चिसकेको छ । उनीहरूको अन्तिम ट्रफी सन् २०१७ को युरोपा लिगपछि क्लबको खर्च लगभग ६ सय ७२ मिलियन पाउन्ड पुगेको छ ।
पूर्व युनाइटेड मिडफिल्डर रोबी साभेज भन्छन, ‘यी खेलाडीले म्यानचेस्टर युनाइटेडका प्रशिक्षकलाई कति पटक उनीहरूको जागिरबाट निकाल्छन् ? यत्रो खर्च गर्दापनि विगत १० वर्षदेखि राम्रो अनुबन्ध हुन सकेको छैन ।’