काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न दिने निर्णय गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले एनएसएल आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको हो ।
यस्तै बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराए ।
बैठकले अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्ष दिपक खतिवडा, कुमार केसी, एन्फा सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा छन् ।
७ सदस्यीय सम्झौता नविकरण समितिले एनएसएलसँग त्रुटिपूर्ण सम्झौता खारेज गर्दै सम्झौता नविकरण गर्नेछ ।
पछिल्लो समय ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएपछि एनएसएलको आयोजना विवादमा परेको थियो ।
एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।
यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।
यस्तै प्रतियोगिता काठमाडौं र पोखरामा सञ्चालन गर्ने आयोजकको तयारी रहेको छ ।