काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
आइतबार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो ।
वेस्ट ह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे ।

खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन् ।
त्यसपछि खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
यस जितसँगै सिटीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ । वेस्ट ह्यामले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
