काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा लिभरपुलले नवप्रवेशी क्लब फुलहमसँग २-२ गोलको बराबरी खेलेको हो ।
लिभरपुलका लागि डार्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरे ।
फुलहमका एलेक्सान्डर मिट्रोभिचले दुबै गोल गरे।
रोमान्चक खेलको ३२ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए । उनले प्रिमियर लिगको डेब्यु खेलमै गोल गरेका हुन् ।
खेलको ७२ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यससँगै लिभरपुलले एक अंकबाट सिजनको सुरुआत गरेको छ ।
फुलहमले पनि पहिलो खेलमा एक अंक जोडेको छ ।