एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ हुदैछ । शुक्रबारबाट सुरु भएको सिजनको पहिलो खेलमा आर्जनलले क्रिस्टल प्यालेसलाई हराएर शानदार सुरुवात गर्यो ।
शनिबार प्रिमियर लिगका केही ठुला खेलमा सबैको नजर हुनेछ । उपाधिमा दाबेदारिता प्रस्तुत गर्ने लिभरपुल, टोटेनहम र चेल्सीले शनिबार प्रिमियर लिगको सुरुवात गर्दैछन् ।
लिभरपुल क्लब फुलहामको भ्रमणमा निस्कदै गर्दा बर्नमाउथले एस्टन भिल्ला, लिड्सले उल्भ्स र न्युक्यासलले नव प्रवेशी क्लब नोटम फोरेस्टसँग खेल्नेछन् ।
सिजनको पहिलो कम्युनिटी शिल्डको उपाधि हात पारेको लिभरपुललाई गोलकिपर एलिसनको आगमनले केही राहत दिनेछ । प्रि सिजनमा बोकेको चोटका कारण फुलहामका ह्यारी विल्सन र नाथनियल चालोबाले शनिबारको खेल गुमाउनेछ ।
अन्य खेलमा टोटेनहम साउथह्याम्टनको भ्रमणमा निस्कदै गर्दा अर्को लण्डन क्लब चेल्सीलाई एभर्टनले आतिथ्यता प्रदान गर्नेछ ।
मुख्य फरवार्ड डोमिनिक काल्भर्ट लेविनको लामो समय मैदान बाहिर रहने समाचारले एभर्टनलाई सिजनको सुरुवातमा गाह्रो पर्नेछ । प्रशिक्षणको दौरानको चोटका कारण उनी ६ साता मैदान बाहिर रहने बताईएको छ । चेल्सीका टिमो वार्नर र अर्मान्डो ब्रोजालाई सामान्य चोट छ । रहिम स्टर्लिङ र कालिदो कौलीबलीले लण्डन क्लबबाट डेब्यु गर्न सक्नेछन् ।