काठमाडौं । गत सिजन इंग्लिस प्रिमियर लिगको उपाधि होड खालि एकै अंकले मात्र निर्णय भएको थियो । उपाधि म्यानचेस्टर सिटीले जित्यो, लिभरपुल दोस्रो स्थानमा रह्यो । पछिल्लो सिजन इंग्लिस फुटबलमा यिनै दुई टिमको भिडन्त चलिरहेको छ, अरूको काम त्यसलाई हेर्नु मात्रै भएको छ । के अबको सिजन पनि यस्तै हुनेछ त ?
सायद । यसमा केही न केही झल्को आज हेर्न पाइनेछ । नयाँ सिजन सुरु हुँदैछ भनेर संकेत गर्ने कम्युनिटी शिल्ड शनिबार हुँदैछ, राति पानै १० बजे खेल सुरु हुनेछ । इंग्लिस नयाँ सिजनको पहिलो खेल यही हुने गर्छ । सिटीले लिग विजेताका रूपमा खेल्न लागेको छ भने लिभरपुलले एफएकप विजेताका रूपमा ।
परम्परा यही हो, ‘लिग भर्सेस कप’ विजेताको खेल । त्यसो त यो उपाधिलाई सबथोक मान्ने गरिन्न । खालि एक औपचारिकता मात्र मान्ने पनि छन् । अझ यो कम्युनिटी शिल्ड जित्नेले लिग जित्दैन भन्ने विश्वास पनि छ । तर एउटा तथ्य निश्चित छ, जसले यो उपाधि जित्छ, त्यो टिम कम्तीमा खुसी भने हुनेछ ।
यसले टिममा उत्साह थप्नेछ । यसपल्टको कम्युनिटी शिल्डमा सबैको नजर इर्लिङ हल्यान्ड र डारविन नुनेजमा हुनेछ । उनीहरू भर्खर अनुबन्धित खेलाडी हुन् । गत सिजनको तुलनामा यसपल्टको सिटी र लिभरपुल धेरै फरक पनि छ । सिटीले रहिम स्टर्लिङलाई बेचेको छ र आफ्नो अग्रपंक्ति अझ धारिलो बनाउन हल्यान्ड किनेको छ ।
साडियो मानेले बायर्न म्युनिक जान लिभरपुल छाडेको छ र लिभरपुलले नुनेज अनुबन्ध गरेको छ । दुवै टिममा अरू केही न केही परिवर्तन छ, तर सबैको आखाँ लाग्ने खेलाडी यिनै दुई हुन् । यो खेल एक प्रकारले दुई व्यवस्थापकको भिडन्त पनि हो, त्यो भनेको ‘पेप ग्वार्डिओला भर्सेस योर्गन क्लोप’ पनि हो ।
–एजेन्सीको सहयोगमा ।