इलाम । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व उपकप्तान तथा डिफेन्डर सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
डिफेन्डर सन्दीप प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।
सन्दीपसँगै मोरङका पूर्व फुटबलर प्रदिपकुमार भगतलाई समेत सदस्य नियुक्त गरिएको छ ।
बोर्डका अध्यक्ष सामाजिक विकास मन्त्री राजन राईले प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम सदस्यमा नियुक्त गरेका हुन् ।
प्रदेश सदस्य नियुक्त भएपछि सन्दीपले नेपाली खेलकुद क्षेत्रमा दिएको योगदानको कदर भन्दै खुशी व्यक्त गरे ।
'नेपाली फुटबलमा एक दशक भन्दा लामो समय खेलाडीको रुपमा दिएको योगदानको आज कदर भएकोमा खुशी छु,' सन्दीपले भने ‘ खेलकुद क्षेत्रमा सिकेको सिपलाई उच्चतम प्रयोग गरेर प्रदेश १ को फुटबल र खेलकुदलाई आफ्नो क्षमताले भ्याएसम्म योगदान दिनेछु ।’

सन्दीपले नेपाली राष्ट्रिय फुटबल टोलीबाट करिब १ दशक फुटबल खेले । सन् २००३ मा यू–१४ राष्ट्रिय टोलीबाट खेलेका एन्फा एकाडेमीका उत्पादन सन्दीपले यू–१६, यू–१९ र यू–२३ बाट समेत खेलेका छन् । उनले सन् २००८ बाट २०१५ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए ।
जर्मनका थोमस फ्लेकले नेपाली राष्ट्रिय टोली सम्हाल्दा सन्दीपलाई पोखरामा पाकिस्तानविरुद्ध मैत्रीपुर्ण खेलमा डेब्यु गराएका थिए । सन् २०१५ सम्म राष्ट्रिय टोलीमा रहेका सन्दीपले फिफाको आधिकारी खेलमा ४९ क्याप जित्दै ३ गोल गरेका छन् । डिफेन्स र डिफेन्सिभ मिडफिल्डरमा अब्बल सन्दीपले एएफसी च्यालेन्जकपमा कम्बोडिया, सन् २०११ साफमा माल्दिभ्स र सन् २०१३ मा विश्वकप छनौट अन्र्तगत नदर्न मारियानाविरुद्ध गोल गरेका थिए । राष्ट्रिय टोलीबाट सर्वाधिक क्यापमा उनी शीर्ष १० मा रहेका छन् ।
न्युरोड टिम एनआरटीबाट २०६१ सालमा शहिद स्मारक लिगमा डेब्यु गरेका सन्दिपले मनाङ मस्र्याङदी र थ्रीस्टारबाट शहिद स्मार लिग खेलका छन् । उनले भारतको दोश्रो डिभिजनको मोहम्मडन स्र्पोटिङ क्लबबाट समेत खेलेका छन् । उनले २०६९ सालमा सर्वोत्कृष्ट खेलाडीको बन्दै कार समेत पाएका थिए ।
तर, पछिल्लो समय सन्दीप म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोपमा फुटबलमा आजीवन प्रतिबन्धमा छन् ।
एसियाली फुटबल महासंघ (एएफसी) ले सन्दीपसँगै पूर्वकप्तान सागर थापा, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकास सिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रतिबन्ध गरेको थियो ।