काठमाडौं । इंग्ल्यान्ड घरेलु भूमिमा जारी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा स्पेनलाई अतिरिक्त समयमा २-१ ले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन एला टोन र जर्जिया स्टानवेले एक एक गोल गरिन् ।
स्पेनकी एस्थर गोन्जालेजले एक गोल गरिन् ।
रोमान्चक खेलमा इंग्ल्यान्डले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको ५४ औं मिनेटमा गोन्जालेजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।
तर, खेलको ८४ औं मिनेटमा टोनले गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा ल्याइन् ।
त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको ९६ औं मिनेटमा स्टानवेले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाइन् ।