काठमाडौं । प्रि-सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको चेल्सीले मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ ।
बिहीबार बिहान भएको खेलमा चेल्सी एमएलएस लिग क्लब चार्लोट एफसीसँग पेनाल्टीमा ५-३ गोल अन्तरले पराजित भएको हो ।
चार्लोटको मैदानमा खेलको निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा चेल्सीका काइ हाभर्टज, बेन चिलवेल र रहिम स्ट्रर्लिङले गोल गरे । चेल्सीका कोनर गालेघर पेनाल्टीमा चुके ।
घरेलु टोलीका डानिल रिओस, क्रिस्टियन माकोउन, एन्टोन वाल्क्स, जोसेप मोरा र कमिल जोज्विकले पेनाल्टीमा गोल गरे।
पेनाल्टी अघि खेलको ३० औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको इन्जुरी समयमा डानिल रिओसले पेनाल्टीमार्फत गोल गर्दै चार्लोटलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।