एजेन्सी । हल्ला छ, नेयमार इतिहाद क्लब जान सक्छन् । इतिहाद अर्थात म्यानचेस्टर सिटी ।
यो समर ट्रान्सफरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना सुपरस्टार खेलाडी नेयमार बेच्न तयार देखिएको छ । र नेयमारको सम्भावित गन्तव्यको रुपमा सिटी चर्चामा छ ।
यस बिषयमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओला बाहिर आएर भनेका छन् । नेयमार सिटी आउने हल्लालाई स्पष्ट पार्दै ग्वार्डिओलाले भनेका छन्, ‘नेयमार अविश्वसनीय खेलाडी हुन् ।’
राम्रो मुल्य पाएमा पीएसजी नेयमार बेच्न इच्छुक देखिएको छ । धनी क्लब सिटी नेयमारको गन्तव्य हुन सक्छ ।
सिटीले नयाँ सिजनका लागि मात्र एर्लिङ हालाण्ड र काल्भिन फिलिप्स अनुबन्धन गर्न मात्र ९३ मिलियन पाउण्ड खर्च गरिसकेको छ । विश्व फुटबलका महङ्गा खेलाडी नेयमारलाई अनुबन्धन गर्न कुनैपनि क्लबलाई ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । तर यस हल्लामा ग्वार्डिओलाले भनेका छन्, ‘नेयमार उनीहरुको खोजमा छैनन् ।’
फ्रान्सेली आउटलेट पत्रिकाले ग्वार्डिओलालाई सोध्यो, ‘के सिटीले नेयमारलाई सिधै प्रस्ताव गरेको थियो ?’
प्रशिक्षक ग्वार्डिओलाले भने, ‘यो सबै झुठो हो ।’
‘म माफी माग्न चाहन्छु । यो सही हैन ।’ प्रि सिजन खेलका लागि अमेरिकामा रहेका ग्वार्डिओलाले भने ।
‘म माफी सहित भन्न चाहन्छु, त्यो सुचना सही थिएन । नेयमार अविश्वसनीय खेलाडी हुन् । जानकारीमा आए अनुसार, उनी राम्रो मान्छे हुन् । उनलाई पेरिसमा आफै प्रस्तुत हुन दिन आवश्यक छ ।’ उनले थपे ।