काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) जमैका तालाबाजबाट खेल्दै छन् ।
बुधबार तालाबाजले सन्दीपसहित पाँच विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको हो ।
सन्दीप विदेशी कोटाबाट अनुबन्धित भएपनि उनले पाउने रकम भने खुलाईएको छैन ।
सन्दीपसँगै जमैकाको टोलीमा पाँच विदेशी खेलाडी रहेका छन् ।
पाकिस्तानका लागि खेलिसकेका मोहम्मद अमिर तथा इमाद वासिम रहेका छन् । अष्ट्रेलियन क्रिकेटर क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाल प्रिटोरियस रहेका छन् ।
वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटका उपकप्तान रोभमन पावेलको कप्तानी यस टोलीमा रहने छ ।
यस्तै वेस्ट इन्डिजका विस्फोटक ब्याटरको छवि बनाएका ब्राण्डन किंग्स, किमार लुईस,फेबियन एलेन जमैकाको टिममा रहेका छन् ।
यस लिगमा सन्दीपको प्रदर्शन उच्च रहेको छ । त्यसैले सन्दीप प्लेईङ-११ मा रहने सम्भावना उच्च रहेको छ ।
सन्दीप अहिले नेपाली टोलीको नेतृत्व गर्दै स्कटल्याण्डमा रहेका छन् । आईसीसी विश्वकप लिग टूको लागि नेपाली टोली स्कटल्याण्डमा रहेको छ ।