काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त बोर्ड सदस्य पिताम्बर तिमल्सिना बोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् ।
राखेपको बोर्ड अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बुधबार तिमल्सिनालाई बोर्ड उपाध्यक्षमा मनोनयन गरेको हो । तिमल्सिना राखेपका पुर्व उपाध्यक्ष समेत हुन् ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा तिमल्सिनालाई बोर्ड उपाध्यक्षको नियुक्ति पत्र प्रदान गरिएको थियो ।
यस्तै राखेप बोर्ड सदस्यमा नवनियुक्त अन्य दुई सदस्य इन्दिरा निरौला र राजेश गुरुङलाई पनि नियुक्ति पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नवनियुक्त तीन सदस्यहरुले शपथ ग्रहण गरेका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको बोर्ड सदस्यमा तिमल्सिनासहित, नेपाल भलिबल संघका केन्द्रिय सदस्य निरौला र राखेपका पुर्व सदस्य गुरुङलाई नियुक्त गरेको थियो ।
राखेपको उपाध्यक्षमा नियुक्त भएका तिमल्सिना लामो समयबाट नेपाली खेलकुदमा सक्रिय रहेका छन् ।
यस्तै निरौला पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी हुन् । हाल भलिबल संघको केन्द्रीय सदस्य समेत रहेकी छिन् ।
बक्सिङका पुर्व खेलाडी गुरुङ पुर्व राखेप सदस्य हुन् ।