एजेन्सी । विश्वकप अन्तर्गत आज हुने अन्तिम खेलमा उरुग्वे र साउदी अरेबियाले प्रतिस्पर्धा गर्दै छन् ।
उरुग्वेले विश्वकपमा विजयी सुरुवात गरिसकेको छ । उरुग्वेले इजिप्टलाई हराएको थियो । पहिलो खेलमा पराजित साउदी अरेबिया भने पहिलो जितको खोजीमा रहने छ । साउदी आयोजक रुससँग पराजित भएको थियो ।
उरुग्वे र साउदी प्रतिस्पर्धाका लागि मैदान उत्रदै गर्दै दुई खेलाडी चर्चामा रहने छन् । उरुग्वेका लुइस स्वारेज र साउदीका ओसामा हाव्सावी । यी दुईबीचको खेल स्वारेज र हाव्सावीकै वरीपरी घुम्ने छ ।
लुइस स्वारेज (उरुग्वे)
एसियन राष्ट्र साउदी अरेबियासँग भिड्दै गर्दा उरुग्वेका स्टार स्वारेजको बिशेष दिन हुनेछ । किनकी, स्वारेजले साउदी अरेबियाविरुद्ध राष्ट्रको लागि सयौं खेल खेल्दै छन् ।
आफ्नो ऐतिहासिक खेल खेल्दै गर्दा स्वारेज उरुग्वेका लागि मुख्य खेलाडी हुनेछन् । इजिप्टविरुद्ध पुरै समय मैदान बिताएका स्वारेजले गोल गर्न सकेनन् तर आफ्नो प्रदर्शनको छाप भने छाडेका थिए ।
स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षिय फरवार्ड स्वारेजले ३३ खेल खेल्दै २५ गोल गरेका छन् । स्वारेजले विश्वकप छनोटको १३ खेलमा ५ गोल गरेका थिए ।
ओसामा हाव्सावी (साउदी अरेबिया)
बलियो दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग मैदान उत्रदा गर्दा साउदी अरेबियाका मुख्य खेलाडी हुनेछन् - ओसामा हाव्सावी ।
३४ बर्षीय यी भेट्रान साउदीका कप्तान पनि हुन् । सेन्टर ब्याक हाव्सावी घरेलु लिग अल हिलाल साउदीबाट खेल्ने गर्छन् । यो सिजन उनले १९ खेल खेल खेलेका छन् भने एसियन कपमा तीन खेल खेलिसकेका छन् ।
पहिलो खेलमा रुससँग पराजित हुँदा कप्तान हाव्सावीले ९० मिनेट नै खेलेका थिए । लामो पास खेल्न माहिर हाव्सावि फरवार्डलाई बल उपलब्ध गराउन पनि उत्तिकै माहिर मानिन्छन् । हाव्सावि उरुग्वेका अग्रपंक्तिका खेलाडीलाई रोक्न सक्षम खेलाडीको रुपमा रहने छन् ।