एजेन्सी । प्रिमियर लिग फुटबलको उपाधि यात्रामा निस्किएको म्यानचेस्टर सिटीलाई चोटले तनाब थपेको छ । आईतबार राति वेस्ट ह्यामसँग भिड्न लागेको सिटीलाई खेलाडीको चोटले सताएको छ ।
वेस्ट ह्यामको घरेलु मैदानमा उत्रदै गर्दा सिटीसँग मुख्य डिफेन्डर हुने छैनन् । केयल वाल्कर, जोन स्टोन्स र रुबिन डायस यसअघिनै सिजनका बाँकी खेल गुमाईसकेका छन् । एमेरिक लापोर्टे र फर्नान्डिन्होको चोटले समेत सिटीलाई अफ्ठयारोमा पारेको छ ।
वेस्ट ह्यामका सेड बेनरह्यामको टुङ्गो खेल अघि लाग्नेछ भने माइकल एन्टोनियो र क्रेग डसन निको भैसकेका छन् । एन्जेलो ओग्बोना घुँडाको चोटका कारण मैदान बाहिर छन् ।
म्यानचेस्टर सिटीले अझै केही खेलाडीलाई वेस्ट ह्यामविरुद्धको खेलमा गुमाउन सक्नेछ । जसले सिजनको अन्तिमतिरको खेललाई थप चाखपूर्ण बनाउनेछ ।
सिटीलाई उपाधिका लागि मात्र चार अंक चाहिएको छ । उसको हातमा दुई खेल छ । तर तलमाथि केही भएमा त्यसको प्रत्यक्ष फाईदा तीन अंकले पछि रहेको लिभरपुललाई पुग्नेछ ।
शीर्ष स्थानको सिटीको ८९ अंक, दोस्रो स्थानको लिभरपुलको ८६ अंक र सातौं स्थानको वेस्ट ह्यामको ५५ अंक छ ।
आजै टोटेनहमले घरेलु मैदानमा बर्नलीलाई आतिथ्यता दिदा च्याम्पियन्स लिग छनोटको सम्भावनालाई धेरै हदसम्म निर्णय दिनेछ ।
अन्य खेलमा क्रिस्टल प्यालेस टिम एस्टन भिल्लाको भ्रमणमा निस्कनेछ भने लिड्सले ब्राइटोनलाई घरमा बोलाउनेछ । लेस्टर वाटफोर्डको भ्रमणमा निस्कदा उल्भस र एभर्टन क्रमश नर्विच र ब्रेन्टफोर्डको आतिथ्यता ग्रहण गर्नेछन् ।