काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
च्याम्पियन बनिसकेको पीएसजीले शनिबार मोन्टपेलियरलाई ४-० गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।
एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।
२० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।
खेलको २६ औं मिनेटमा डी मारियाले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

यस जितसँगै शीर्ष स्थानको पीएसजीले ३७ खेलमा ८३ अंक जोडेको छ ।
पीएसजीले चार खेल अगाबै उपाधि जितेको थियो ।
मोन्टपेलियर ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।