काठमाडौं । गणेश थापाले झण्डै दुई दशक नेपाली फुटबललाई चलाए । रवाफ हेर्दा लाग्थ्यो, उनी नेपाली फुटबलमा अजमबरी हुन् । तर नहुने रैछ । दम्भ, घमण्ड र व्यक्तिबादी चिन्तनले झण्डै २० वर्षको उनको विरासत ढल्क बेरै लागेन।
थापा अहिले फुटबलमा छैनन् । हेर्दा लाग्छ, उनलाई आफ्नो सत्ता ढलेको विश्वासै छैन । अचेल उनका कुरा धेरैले सुन्न छाडेका छन् । घरीघरी फेसबुक, टिकटकमा बौरिन आईपुग्छन् । दुई दशकमा आफुले चलाएको फुटबल कसरी बन्नुपर्छ भनेर सुझाव दिन्छन् । भ्रष्टचारको मुद्धामा आफु प्रतिबन्धित छन्, तर फुटबलमा सुशासन नभएको चिन्ता उनलाई धेरै देखिन्छ ।
लाग्छ, सत्ता भन्ने चिज साह्रै निर्मम र घृणित हुने रैछ । शासनको बागडोर सम्हालेका बेला शासकले आँखा नदेख्ने, कान नसुन्ने रैछन् । गणेश थापा त सत्ताबाट गए, तर उनको अभाव एन्फाका नयाँ भारदारले पुरा गरिरहेका छन् ।
गत साता राष्ट्रिय टिममा सिनियर १० खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँग ‘बिद्रोह’ गरे । प्रशिक्षणको क्रममा उनीहरुले मात्र बस्न र खानाको राम्रो प्रबन्ध होस् भनेर माग गरेका थिए । प्रशिक्षकले सिनियर १० खेलाडीलाई बन्द प्रशिक्षणबाट निकालिदिए । घटना अहिले राष्ट्रिय बहसको विषय बनेको छ । प्रशिक्षकको व्यवहारबाट आजित भएर सिनियर खेलाडीले क्याम्प छाडेका रहेछन् । राष्ट्रिय फुटबल टिमका सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेर बाहिरिएको यो सम्भवत पहिलो र ठुलो घटना हो ।
डेढ दशकदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका सिनियर खेलाडीले मैदान छाडेपछि यो सर्वत्र चासो र चर्चाको विषय बनेको छ । तर फुटबलको अभिभावक संस्था एन्फा घटनाबारे मौन देखिन्छ । एन्फा नेतृत्वले घटनालाई अति सामान्य रुपमा लिएर विषयलाई अझ जटिल र गम्भिर बनाईरहेको छ ।
खेलाडीले माग छ, घटनाको निष्पक्ष छानविन होस्, वास्तविकता बाहिर आउन् । आफुहरुमाथि लागेका आरोपबाट सफाई मिलोस् । तर एन्फा नेतृत्व खेलाडीको मागलाई नजरअन्दाज गर्ने र घटनालाई सामान्यकृत गर्न उद्धत देखिन्छ । राष्ट्रका लागि आफ्नो सम्पुर्ण जिवन अर्पण गरेका सिनियर खेलाडीमाथि एन्फाले देखाएको रवैया अक्षम्य छ । नेतृत्वको यो गैरजिम्मेवारपनको परकास्टा हो ।
खेलाडीहरु हरेक दिन एन्फामा धाईरहेका छन् । मनभरी गुनासा र आँखाभरी अनिश्चित भविष्यको डर बोकेर एन्फा नेतृत्वको जवाफ खोजिरहेका छन् । तर प्रशिक्षकको व्यवहार भन्दा अभिभावक संस्थाको मौनताले खेलाडीलाई गिजोलेको छ । नेतृत्वको बन्द आँखा र सुन्न छाडेका कानले खेलाडीलाई अझ बढी झस्काएको छ । फुटबलको अभिभावक संस्था र यसको नेतृत्व यति गैरजिम्मेवार र निर्मम कसरी बन्न सक्छ ? यति सक्छ भने उसको फुटबल कति बुझेको छ ?
फुटबल त खेलाडीले मात्र बुझे । राजनीति कत्ति बुझेका रहेनछन् । ‘बा’सँग फुटबलसँगै थोरै सिकेको भए नि हुने ।
खेलाडीका माग सामान्य थिए, प्रशिक्षणको क्रममा राम्रो बस्न र खान देउ । तर राजनीतिमा चर्लुम्म डुबेका सेनापतिलाई यो मान्य भएन । उनले सामान्य सुविधाको माग गर्ने कप्तानदेखि सिनियर खेलाडीलाई टिमबाट बाहिर निकाल्ने निर्णय लिए । लाग्छ, यस घटनाको सबैभन्दा दोषी ती खेलाडी हुन्, जसले राष्ट्रिय टिमको जर्सी लगाउने लोभमा हिजो सबै चिज त्याग गरे । खाना र बस्न राम्रो चाहिन्छ भनेर एन्फासँग माग्न सकेनन् । राष्ट्रिय टिममा पर्ने लोभमा व्यवस्थापनको सबै कमजोरीमा आँखा चिम्लिए । त्यही कारण आजको दिनमा बस्न र खानको सामान्य सुविधा माग्दा खेलाडी टिमबाट निकालिनु परेको छ ।
सुन्दा हुन्छ, उनीहरुलाई टिममा फर्कनु छैन । प्रशिक्षकको फरक देखिने दुईटा अनुहार हेर्न छैन । अनुशासनको नाममा नियन्त्रण गर्न खोज्ने प्रशिक्षकको स्वच्छाचारिताको छानविनमात्र चाहिएको छ । आफुमाथि लागेको भगौडा आरोपमा न्याय मात्र चाहिएको छ ।
प्रशिक्षकले निकालेका सिनियर खेलाडीले पिर भने मान्नु पर्दैन । तिमीहरुको बहिर्गमनले भावी पुस्तालाई राम्रो सुविधामा देशकालागि खेल्ने र तयारी गर्ने नजिर भने छोडेको छ । सधैको व्यवस्थापनको कमजोरीलाई सिनियर खेलाडीले अस्विकार गरेका छन् । तिमीले फालेको लगाउने र दिएको खानाले पुग्दैन भनेका छन् ।
सांकेतिक विरोध गरेका छन् । राजनीतिक रुपमा ‘बिद्रोह’ गरेका छन् ।
‘बिद्रोह’ शब्दसँग तिमीहरुलाई के को डर ?
खेलाडीहरु डराउन पर्दैन । तिमीले बिद्रोहनै गरेका हौ । बिद्रोह नगरि परिवर्तन पनि त हुदैन । के तिमीहरुले परिवर्तन खोजेको हैन ? निम्न सुविधा र कमजोर तयारीमा युद्ध जितिन्न भन्न खोजेको हैन ? कि हैन भन ।
हो भने बिद्रोहको भाष्य बोक्न तयार हौं । यस घटनामा तिमीहरुले गलत गरेका छैनौं ।
तिमीले जवाफ खोजिरहेका एन्फाका वर्तमान अध्यक्ष हिजो बिद्रोहबाटै आएका हुन् । बिद्रोही बनेरै आएका हुन् । गणेश थापा तिम्रो शासन सञ्चालन ठिक नभएर भनेर प्रश्न गरेरै आएका हुन् । प्रश्नले नेता बनेका नयाँ ‘गणेश’सँग प्रश्न गर्न तिमी किन डराउने ?
जायज मागमा शिर किन तल पार्ने ?
तिमीले शिर तल गर्यौ भावि पुस्ताले तिमीलाई सराप्ने छ । जसरी हिजोको पुरानो पुस्ताको सम्झौताको फुटबलले आज तिमीहरुलाई लखेटेको छ । हिजोको पुस्ताले प्रश्न गर्दिएको भए, आज प्रशिक्षकको झोला र जुत्ता बोकेर कुद्ने ‘व्यवस्थापक’ राष्ट्रिय फुटबल टिममा हुन्थेन कि ।
बरु प्रश्न गर, अध्यक्ष हिजोको तिम्रो लडाँई कसका लागि थियो ? यो फुटबल कसका लागि हो ? तिमीले लड्न गईरहेको चुनाव कसका लागि हुनेछ ? तिमी अध्यक्ष कसको हो ? यो एन्फा कसका लागि बनेको हो ?
याचनाले हैन, हिनताबोधले हैन ।
अझ जिम्मेवार भएर, अझ एकिकृत भएर ।
देखिदैछ, सातदोबाटोमा खसेको पहिरो विस्तारै बुढानिलकण्ठसम्म पुग्दैछ ।