काठमाडौं । म्यानचेस्टर सिटी र रियल मड्रिडबीच एतिहाडमा भएको खेल खुबै गज्जब रह्यो ।
युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा सिटी ४–३ ले विजयी त रह्यो, तर त्यसले अहिले नै फाइनल पुग्ने टिम कुन हुनेछ भनेर अनुमान गर्न सकिने कुनै संकेत छाडेको छैन ।
वास्तवमै कस्तो रह्यो त यो खेल ? यस खेलका तीन उल्लेखनीय पक्ष यी रहे ।
ग्वार्डिओलाको भावनात्मक उतारचढाव
खेलका क्रममा सिटी व्यवस्थापक पेप ग्वार्डिओला खुबै भावनात्मक देखिए । कहिले उनी निकै खुसी देखिन्थे, कहिले दु:खी । कहिले प्रसन्न, कहिले आक्रोसित । उनको भावनाले निकै उतारचढाव देख्न परेको थियो । खासमा भन्दा च्याम्पियन्स लिगमा उनको पछिल्लो दशक यस्तै उतारचढावपूर्ण रहेको छ । यी स्पेनी फुटबल प्रशिक्षकले सन् २०११ यता च्याम्पियन्स लिग जित्न सकेको छैन, बार्सिलोनामा रहेको बेला उनले अन्तिम पटक युरोपेली क्लब फुटबलको यो सबैभन्दा ठूलो उपाधि जितेको थियो ।

सिटी मात्र होइन, बायर्न म्युनिकमा रहेका बेला पनि ग्वार्डिओलाले च्याम्पियन्स लिगमा यस्तै उतारचढावपूर्ण स्थिति बेहोरेका छन् । गत सिजन उनको नेतृत्वमा सिटी उपाधिको नजिकै पुगेको थियो, तर फाइनलमा चेल्सीविरुद्धको खेल गुमाउन बाध्य रह्यो । मे ४ मा सेमिफाइनलको दोस्रो लेग रियलको घर बर्नाबाउमा हुनेछ । यसको नतिजा के हुनेछ, भन्न सकिने अवस्था छैन । जस्तै स्थितिमा पनि ग्वार्डिओला फेरि एकपल्ट भावनात्मक तलमाथि हुने स्थितिबाट गुज्रने छन् ।
रियलले आत्मसमर्पण गरेन
पहिलो लेगको सेमिफाइनलमा सिटीको प्रस्तुती निकै आक्रामक मात्र रहेन, उत्तिकै तीव्र गतिको पनि रह्यो । तर रियलले कहिले पनि हार खाएको देखिएन, आत्मसमर्पण गर्ने मनसायमा रियल देखिएन। यस सिजन रियलको खेलको विशेषता यही रहेको छ । यस अगाडि पेरिस सेन्ट जर्मेन (पीएसजी) र चेल्सीविरुद्ध पनि रियल पछाडि रहेको स्थितिमा रह्यो । तर उसले मीठो पुर्नआगमन पनि गरेको थियो । तय छ, बर्नाबाउमा हुने खेलमा रियलको खेल नै अर्कै स्तरको हुनेछ ।

रियलसामु यसपल्ट च्याम्पियन्स लिग जित्ने अवसर मात्र होइन, घरेलु स्पेनी ला लिगा जित्ने अवसर पनि छ । ला लिगा उसले जित्ने त खालि औपचारिकता मात्र हो । यस पछाडिको एउटा ठोस कारण करिम बेन्जेमाको उत्कृष्ट लय पनि हो । उनी राम्रा खेलाडी हुन्, यस अगाडि यो तथ्यमा कसैको पनि विमती रहेको छैन। खालि उनी पर्दा पछाडिका नायक जस्तै रहे । तर यसपल्ट उनले रियलको नेतृत्व सम्हालिरहेका छन्, उनको खेल राम्रो त भइरहेको छ नै ।
उत्कृष्ट डे ब्रुएना
ग्वार्डिओला के मान्छन् भने अहिले केभिन डे ब्रुएनाले जसरी खेलिरहेका छन्, त्यसको स्तरमै बेग्लै छ । सायद आफ्नो खेल जीवनकै सबैभन्दा उत्कृष्ट मोडमा छन्, यी ब्रुएना। रियलविरुद्धको पहिलो लेगको सेमिफाइनलमा पनि उनको प्रदर्शन यस्तै उम्दा रह्यो, उनको खेलबाट कोही पनि निराश रहेनन् । सिजनको सुरुआत उनका लागि राम्रो रहेन, चोटका कारण । तर अहिले उनले चोटलाई मात्र हराएका छैनन्, आफ्ना सबै आलोचकलाई चुप राखेका छन् । हुन सक्छ, बर्नाबाउमा हुने खेलमा पनि यी खेलाडी निर्णायक हुन सक्छन् ।

–एपीएफको सहयोगमा ।